छापामार कमरेड संरचना, शिक्षिका रचना बनेपछि ।

संस्मरण

  ग्राण्ड सम्बाददाता
 130 पटक हेरिएको

– जनक्रान्तिको लहर चलेको बेला । जाली फटाहाको संसार जलेको बेला । राजतन्त्र गलेको बेला । क्रान्तिको भरभराउँदो आगो बलेको बेला । हृदयमा  छुट्टै खालको बिछट्टै आनन्द थियो । सामुहिकतामा रमाउँदै गाउँ-बस्ती, हिमाल-पहाड-तराई, दून र खोंचहरू । टारी र टारहरू । भित्री मधेस र चूरेहरू । गाउँहरू, शहरहरू । जनक्रान्तिको विगुल बजेको बेला । छातिमा जनवादको सपना सजिएको बेला । विभिन्न गोल-भूगोलहरूको लम्बाइ नाप्न पाईयो । शोषित-पीडित जनमनहरूको न्यानो स्नेहमा बेरिन पाईयो । र हजारौं लाखौं सहयोद्धाहरूसँग पनि भेटघाट र भलाकुसारी गर्न पाईयो । धेरै कमरेडहरूले देश र जनताको लागि जिवनोत्सर्ग गरे । कैयौं बेपत्ता भए । कैयौं घाइते र अंगभंग भए । तर “काम गर्ने कालू , मकै खाने भालु ” झैं हुन पुग्यो । विडम्बना व्यवस्था त फेरि मुट्ठीभर मान्छेको लागि मात्र फेरियो । जनक्रान्तिमा होमिएका योद्धाहरू सार्‍है बिचल्ली भए । कोही खाडीमा, कोही गाडीमा त कोही झाडीमा रुमल्लीए । हिंड्दा हिंड्दैको बाटो हराए । तर पनि केही कमरेडहरू अदम्य साहस बोकेर हिम्मत नहारी आफ्नो कर्ममा जुटिरहे र सफलता पनि प्राप्त गर्दै गए । सफलताको सिंढी पनि चढ्दै गए । जस्तै : अनमिनले अयोग्यको बिल्ला भिराएको कमरेड मीरा राईले अल्ट्रा धावकको अन्तर्राष्ट्रिय अवार्ड जितिन । कोही सांसद, कोही मन्त्री भए । कोही गाउँका गन्यमान्य भए । यस्ता उदाहरणहरू कैयौं छन । विस्तारै प्रकाशमा आउँछ नै । यही पेरिफेरिमा रहेर मैले यहाँ एक जना साहसी कमरेडको मिहिनेत र सफलताको कथा उजागर गर्न गईरहेको छु ।

म शैतिम (शैलुङ्ग-तिमाल-म्हाभार) का अजम्बरी बस्तीहरूसँग राम्रो परिचित छु । यी  बस्तीहरू तत्कालीन जनयुद्धका आधार ईलाकाहरू हुन । र क्रान्तिका तूफानी केन्द्रका साथै अभेद्य किल्ला पनि । छापामारहरूलाई लुकाउने । खुवाउने । छापामारहरूले परेड खेलेका लाल बस्तीहरू हुन । जनयुद्धको कोरस गरेका ठाउँहरू हुन । अदम्य साहसका खानीहरू हुन । तिमालले त झन आफ्नो अमर-अजम्बरी इतिहास बोकेको छ । तामाङ राजा ह्रेन्जेन दोर्जेले शासन चलाएको ठाउँ । पछि हिन्दु शासक पृथ्वीनारायण शाहले षड्यन्त्रमूलक ढङ्गले राज्य हत्याएको ठाउँ । हो यही ऐतिहासिक भूमि तिमालको  साबिक कानपूर गा.वि.स. -६ डाँडागाउँ (हाल नमोबुद्ध  नगरपालिका वडा नं-५) मा बुबा तेज बहादुर तामाङ र आमा माया तामाङको कोखबाट २०४५ साल जेठ ७ गते जन्मिएकी थिईन कमरेड संरचना । चार दिदीहरूको एक बहिनी । एक भाइको  दिदी हुन उनी । उनी सानै उमेरदेखि नै निकै चतुर थिईन । उनको प्रारम्भिक शिक्षा गाउँकै महाङ्काल प्रा.वि.बाट शुरु भयो । पढाईमा तेज भएकी क. संरचना गाउँको स्कुलबाट सरासर पाँच कक्षामा  उतिर्ण भएपछि  गाउँ भन्दा अलि टाढा कानपूर मा.वि.मा अध्ययन गर्न गईन । समाजमा रहेका विकृति र विसंगतिमाथि कडा नजर हुत्त्याउने क. संरचना सानै उमेरदेखि नै विद्रोही स्वाभावकी थिइन । यस्तै बेलामा देशैभरि जनयुद्धको सरगर्मी निकै बढेको थियो । जाली फटाहाहरू हायलकायल भएर सदरमुकामतिर बसाइँ सरिसकेका थिए । त्यो अदम्य मुक्तियुद्धको लहरले उनलाई पनि अछुतो राख्न सकेन । र कानपूर उच्च मा.वि. मा पढ्दापढ्दै अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनमा रहेर काम गर्न थालिन् । र थुप्रै शैक्षिक सुधारको बारेमा र विद्यार्थी हक हितको बारेमा आवाज उठाईन । विद्यार्थी आन्दोलनमा एउटा ईंटा थप्ने काम गरिन । विद्यार्थी ईकाइबाट शुरु गरेको विद्यार्थी राजनीति अखिल (क्रान्तिकारी) को जिल्ला कोषाध्यक्षको जिम्मेवारी सम्हालिन ।

विद्यार्थी संगठनमा बसेर काम गर्दा पार्टीको पनि भूमिगत रुपमा काम गर्नुपर्थ्यो त्यतिबेला । कहिलेकाहीँ त चौकीहरू, ब्यारेकहरू पनि रेक्की गरेर रिपोर्ट बुझाउनुपर्थ्यो । नि:शस्त्र अवस्थामा यसरी दोहोरो काम गर्नु निकै चुनौतीपूर्ण हुन्थ्यो । र खतरा पनि । तर कत्ति पनि विचलित नभई आफ्नो उनले  जिम्मेवारी सम्हाल्दै लगिन । यसरी काम गर्दै जाँदा प्रशासनको तारोमा पर्नु स्वभाविकै थियो । त्यही माथि देशमा दोश्रो संकटकाल लागेको थियो । स्थिति जर्जर थियो । शाही शासन थियो । स्कुल जान पनि सार्‍है गार्‍हो भएपछि नौ कक्षामा पढ्दापढ्दै उनी बन्दुक बोकेर २०५९ साल जेठ ७ गते जे पर्ला-पर्ला भनेर जनक्रान्तिमा हामफालिन । उनी जनक्रान्तिमा हिंड्दा उनको उमेर चौध वर्ष मात्रै थियो ।  तर पनि उनले हिम्मत हारिनन । जनक्रान्तिमा लागेपछि पार्टीको एरिया सदस्य भएर संगठनको काम गरिन । विद्यार्थी संगठनको पनि एरिया सदस्य हुँदै जिल्ला कोषाध्यक्ष भईन । रेडियो जनगणतन्त्रमा पनि काम गरिन । साथीहरूसँग म्हाभारका पर्वत शृङ्खलाहरूमा डोकोमा रेडियो बोकेर प्रसारण गरिन । यसरी धेरै जिम्मेवारीहरू सम्हाल्दै जाने क्रममा पुनः २०६१ सालमा बन्दीपूर मोर्चा अगाडि जनमुक्ति सेनाको फर्मेशन (नयाँ बटालियन) मा लामबद्ध हुन पुगिन । उनले यसलाई फौजी संगठनमा काम गर्ने सुनौलो अवसरको रुपमा लिईन । कतिपय साथीहरू जनमुक्ति सेनाको फर्मेशनमा गयो भने मरिहालिन्छ भन्ने भ्रम थियो त्यतिबेला । तर उनले यो भ्रमलाई चिर्न चाहन्थिन । जनमुक्ति सेनामा लामबद्ध भएपछि दर्जनौं फौजी कार्वाहीहरूमा भाग लिईन । साहस र वीरताको पर्याय बनेर लडिन । नार्के फायरिङ एम्बुस (काभ्रे), घर्तीछाप भिडन्त (काभ्रे), झुरझुरे मोर्चा (मकवानपुर), पनौती मोर्चा (काभ्रे), दारेगौंडा मोर्चा (काभ्रे), ठोकर्पा मोर्चा (सिन्धुपाल्चोक), चौतारा मोर्चा (सिन्धुपाल्चोक) । उनी सहभागी भएको महत्त्वपूर्ण मोर्चाहरू हुन । सानातिना भिडन्तहरू त झन अनगिन्ती छन । यी मोर्चाहरूमा उनी एसाल्टमै रहेर लडिन । समय बित्दै जाँदा जनयुद्धले पनि विजय हाँसिल गर्दै गयो । नेताहरूको भनाइ अनुसार क्रान्तिको स्वरुप पनि फेरिंदै गयो । सात राजनीतिक दलहरूसँग भएको बाह्र बुँदे सहमति । जनयुद्धको भीषण  फौजी- राजनीतिक धक्का र लहर झैं उठेको १९ दिने जनआन्दोलनको धक्काले राजतन्त्र ढल्यो । देशमा लोकतन्त्र आयो । परिस्थिति बदलियो । शुरु भयो राजनीतिक मोर्चा । संसदीय मोर्चा ।

२०६३ साल मंसिर ५ गते सरकार र ने.क.पा. (माओवादी) पार्टी बीच विस्तृत शान्ति सम्झौता भयो । र जनमुक्ति सेना क्यान्टोनमेन्टमा बस्ने निर्णय भएसँगै क. संरचना पनि साथीहरूसँगै चितवनको शक्तिखोर क्यान्टोनमेन्टमा बसिन । आफूले चलाएको हतियारमा यु.एन.ओ. को छाप लाग्यो । हतियार कन्टेनरमा राखियो । र कन्टेनरको चाबी अनमिन (UNMIN) का प्रतिनिधिसँग रह्यो । हतियार कन्टेनरमा राख्दा उनलाई निकै पीर परेको थियो । किनकि हतियार सहिदको रगतसँग साटिएको थियो । उनलाई एक ढङ्गले आश्चर्य पनि लाग्यो । तर पार्टीको निर्णय नै सर्वोपरि थियो । क्यान्टोनमेन्टमा बस्दा पनि थुप्रै आरोह-अवरोह र उतारचढावहरू भए । शुरुमा सरकारले खानै नदिइ तड्पायो । जनमुक्ति सेना ब्यारेकबाट निस्कन बाध्य भयो । फेरि पनि न्यायप्रेमी जनतामा माझ गयो । त्यसपछि बल्ल सरकारसँग व्यबस्थापनको केही सहमति भएपछि जनसेना फेरि ब्यारेक फर्कियो । त्यसपछि कैदीलाई सिदा दिए जस्तो दिनको साठी रुपैयाँ छुट्ट्यायो । अस्तव्यस्त बसाई । हजारौं अभाव । पालको बास । हावाहुरी, असिना पानी । जोगीले कुटी कुरे जस्तै जिन्दगी । अभावै अभाव । यति धेरै समस्याको बाबजुद पनि उनले धेरै संघर्ष गरिन । १३ औं बटालियन बि कम्पनीमा रहेर आफ्नो सैन्य टुकडीलाई कमान्ड गरिरहिन । सहयोद्धाहरूलाई सँधैं विचार, राजनीति र फौजी ज्ञानले धारिलो बनाईरहिन । आदेशको पालना गरिरहिन । आफूले पनि सैनिक जीवनका कठिन कोरसहरू पार गरिन । त्यो बेलासम्म उनी प्लाटून कमान्डर भईसकेकी थिईन । र स्वैच्छिक अवकाशमा निस्कने बेला डिभिजन कार्यालयको संचार विभागमा जिम्मेवारी सम्हालेकी थिइन । फौजी संगठनको कामसँगै आफ्नो पढाईलाई पनि निरन्तरता दिईरहिन । क्यान्टोनमेन्टमा बस्ने बेला २०६५ सालमा नै उनले एस.एल.सि. पास गरिसकेकी थिइन । स्वैच्छिक अवकाशमा क्यान्टोनमेन्टबाट निस्केपछि पढाईलाई निरन्तरता दिने क्रममा उनले रोशी उच्च मा.वि. बाट बाह्र कक्षा उतिर्ण गरिन । त्यसैगरी मंगल जनविजय बहुमुखी क्याम्पसबाट ब्याचलर उतिर्ण गरिन । र सानो ठिमी क्याम्पसबाट सरासर मास्टर डिग्री उतिर्ण गरिन । यसरी उनको शैक्षिक खुड्किलाहरू थपिँदै गयो । एउटा खालको  शैक्षिक स्तर पनि कायम गरिन । यो बीचमा थुप्रै वाधा, व्यवधान र कठिनाईहरूलाई पनि पार गरिन । त्यही भएर पो यो सफलता हात पारिन ।

गरे सकिन्छ । “संसारमा असम्भव भन्ने चीज केही छैन । यदि प्रयास गरेको खण्डमा ।” भने झैं उनले अध्ययन सँगसँगै अध्यापन पेशा पनि अंगाल्न पुगिन । हो यही बेला उनको जिन्दगीको फेरि कठिन घुम्ती शुरु भयो । आर्थिक अभाव पर्दै गयो । रोजगारी पाईएन ।  अनगिन्ती समस्याहरू पर्दै गए । तर पनि उनी नआँत्तिकन आफ्नो कामलाई अगाडि बढाईरहिन । अनगिन्ती लडाइँहरू लडेको योद्धा भएकोले यी कठिनताहरूलाई सजिलै पार गर्दै गईन । र यी घुम्ती-मोडहरू क्रमशः सुखद हुँदै गयो । जिन्दगीको त्यही मोडपछि हिंजोकी छापामार कमरेड संरचना शिक्षिका रचनामा बदलिइन । र हजारौं विद्यार्थीहरूको भविष्यको पथप्रदर्शक बनिन । अँध्यारो समाजको एउटा शितल जून बनिन । यही नै थियो जिन्दगीको ठूलो सफलता । उनले क्रमश: अध्यापन गराएको स्कुलहरू हुन । निर्वाणा ईन्टरनेशनल बोर्डिङ स्कुल (काभ्रे), समता शिक्षा निकेतन बोर्डिङ स्कुल (भक्तपुर), जुगेश्वर मा.वि. जुगेपानी (काभ्रे), जनता मा. वि. कोलाती (काभ्रे), जनक मा. वि. भकुण्डे (काभ्रे ), कर्मदय प्रा.वि. पिन्थली (काभ्रे), हाल ईन्द्रोदय आधारभूत विद्यालय, खार्पाचोक (काभ्रे) मा अध्यापन  गराईरहेकी छन ।

यसरी शिक्षिकाको भूमिका सँगसँगै विभिन्न विधाहरूमा पनि कलम चलाउँदै आएकी छन । सामाजिक विकृति, विसंगतिप्रति आगो ओकल्दै धारिलो कलम चलाउने एक नारी हस्ताक्षर पनि हुन । कविता, मुक्तक, गीत, संस्मरण विधामा धारिलो कलम चलाउँदै आएकीछन । उनका सृजनाहरू वर्गसंघर्षको भट्टीबाट खारिएकोले अति सशक्त हुन्छन । अब्बल हुन्छन । र कालजयी पनि । उनी एक साहित्यिक सर्जकको रुपमा स्थापित छन । साहित्य सृजनासँगै उनी विभिन्न संघ संस्थाहरूमा पनि आबद्ध छिन । तामाङ डाजाङ को सदस्य । तामाङ फाउन्डेसनको आजीवन सदस्य ।  सेमलेङ न्हान भक्तपुरको कोषाध्यक्ष । प्रगतिशील लेखक संघ बागमती प्रदेश को सदस्य । रोशी साहित्य मन्च काभ्रे को उपाध्यक्ष ।  यी संस्थाहरूमा उनको अतुलनीय योगदान छ । व्यक्तिगत स्वार्थलाई परै राखेर सामूहिक स्वार्थलाई बढावा दिने उनको मक्सद हो ।

उनी धेरै साहित्यिक यात्रामा पनि भाग लिईरहन्छिन । “साहित्य समाजको दर्पण हो ।” भने झैं विभिन्न समाज, संस्कृति र समुदायको बीचमा गएर  वास्तविकता उजागर गर्न रुचाउँछिन । त्यसैले  धेरै साहित्यिक यात्राहरूमा भाग लिएर आफ्नो सशक्त सृजनाहरू पनि सुनाएकीछन । उनलेे भाग लिएको साहित्यिक यात्राहरू क्रमश: पर्यटन विकासको लागि पत्रकार भेटघाट, सिन्धुपाल्चोक गुफाडाँडा (२०७४), अन्तर्राष्ट्रिय मातृभाषा कविता महोत्सवमा कविता वाचन (२०७५), कोन्ज्योसोम साहित्यिक यात्रा, ललितपुर (२०७५), लिसंखुपाखर साहित्यिक यात्रा, सिन्धुपाल्चोक (२०७६), रोशी साहित्य यात्रा काभ्रे, (२०७६) । उनका यी अविस्मरणीय साहित्यिक यात्राहरू हुन । उनले यी साहित्यिक यात्राहरूको बेजोड नियात्राहरू पनि कोरेकीछन ।

साहित्यिक यात्रा र साहित्य सृजनालाई निरन्तरता दिने क्रममा विभिन्न संघ-संस्थाहरूबाट सम्मान र पुरस्कारहरू पनि ग्रहण गरेकीछन । उनको जीवनको यी अमूल्य निधिहरू हुन । समावेशी अनलाइन मिडियाद्वारा आयोजित कविता प्रतियोगितामा प्रथम पुरस्कार, (२०७५), तामाङ डाजाङ ग्योईकाई पुरस्कार (२०७५) । मातृभाषा कविता छनौट (२०७६) ।

यसरी देश र जनताको लागि मृत्यु या मुक्तिको शपथ खाएर हिंडेकी छापामार क. संरचना शिक्षिका रचनामा बदलिएपछि सुन्दर र समुन्नत : समाज निर्माणको काम बिना गतिरोध अगाडि बढीरहोस । सहयोद्धा र हिंजोको उनको एक सानो कमान्डरको तर्फबाट लाख लाख शुभकामना !

डम्बर थामी ‘अनुपम’:१२ चैत्र २०७७, पराईभूमी !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार