नेकपाका प्रमुख सचेतक देव गुरुङ बर्खास्त दलको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त

  ग्राण्ड सम्बाददाता
 117 पटक हेरिएको

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रमुख सचेतक देव गुरुङलाई बर्खास्त गरि प्रधानमन्त्री तथा नेकपाका संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

प्रतिनिधिसभा पुनःस्थापना पछि देव गुरुङलाई प्रमुख सचेतकबाट बर्खास्त गरि खोटाङबाट निर्वाचत भट्टराईलाई प्रमुख सचेतक मनोनयन गरिएको हो ।

भट्टराईलाई प्रधानमन्त्री ओलीले आज संसदीय दलका उपनेता सुवास नेम्वाङ सहितको उपस्थितिमा प्रमुख सचेतकको नियुक्ति पत्र समेत दिएका छन् । खोटाङबाट दुईपटक निर्वाचित सांसद भट्टराई नेकपा केन्द्रीय सदस्य हुन् ।

विधान अनुसार दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक मनोयन गर्ने व्यवस्था नेकपामा रहेको छ ।

पार्टी विभाजनले कानुनी मान्यता नपाइसकेको अवस्थामा विधिवत रुपमा नेकपाको संसदीय दल एउटै छ । सो दलबाट प्रमुख सचेतक गुरुङ र सचेतक शान्ता चौधरी थिए । चौधरी सचेतकमा यथावत रहेको उपनेता नेम्वाङले बताए ।

प्रतिनिधिसभा विघटनपछि प्रचण्ड–माधव समुहले दलको अलग्गै बैठक बसेर पुष्पकमल दाहाललाई दलको नेता चयन गरेका थियो । अहिले प्रतिनिधिसभा पुनःस्थापना पछि दलको नेताबाट ओलीलाई हटाउने प्रक्रियामा जाने कि सिधै संसदमा अविश्वास प्रस्ताव दर्ता गर्ने भन्ने टुंगो लागिसकेको छैन ।

ओली पक्षले पार्टी विभाजनले कानुनी मान्यता नपाउँदा सम्म दलको नेता ओली रहेको हुनाले प्रचण्ड-माधव समुहले दलको नेता परिवर्तन गर्ने हो भने बहुमत सांसद जुटाएर दलभित्रको प्रक्रियामा आउनुपर्ने बताइरहेको छ ।

तर प्रचण्ड–माधव समुहका सांसद कृष्णभक्त पोखरेलले भने आफूहरुले त्यसबारे अहिले नसोचेको भन्दै संसदकै प्रक्रियामा जाने सम्भावना रहेको बताए । नेकपाका संघीय संसदका २२३ सांसदमध्ये दुवै पक्षमा हाराहारी सांसद रहेका छन् ।

केही सांसदको ओहोर दोहोर चलिरहेको बेला ओलीलाई बुहमतबाट हटाउने संख्या नपुग्ने आशंका प्रचण्ड-माधव समुहमा छ । त्यसैले दलको वैधानिक प्रक्रियामा जाने भन्दा अब पार्टी विभाजनलाई कानुनी प्रक्रियाबाट मान्यता दिलाउनेतर्फ सो पक्ष लाग्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार