नेकपा उपाध्यक्ष बामदेव गाैतमले प्रधानमन्त्रीको राजिनामा माग विज्ञप्ति सहित ।

राजनीति

  ग्राण्ड सम्बाददाता
 172 पटक हेरिएको

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिन माग गरेका छन ।

गाैतमले बुधबार विज्ञप्ति जारी गर्दै अदालतको फैसलाको स्वागत गर्दै भनेका छन्, “प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिनुपर्छ ।” गौतमले ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले तत्काल धुम्बाराहीमा सचिवालय बैठक बोलाउन समेत माग गरेका छन् ।

उनले राष्ट्रपतिले पनि सर्बोच्चको निर्णयलाई स्वागत गर्दै संसदको बैठक बोलाउनु पर्ने बताएका छन । गाैतमले यस्तो भनेका छन ।सम्माननीय राष्ट्रपति महोदयले प्रेस विज्ञप्ति मार्फत संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नु पर्छ ।

बुधबार बामदेव गौतमले जारी गरेको विज्ञप्ति यस्तो छ ।

प्रेस विज्ञप्ति

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भए यता वि सं २०७७ साल फागुन ११गतेको दिन
ऐतिहासिक महत्वको रहेको छ।
यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौं सपुतहरुको बलिदान तथा लाखौं देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गर्नु भएको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर भएको छ। आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो। यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै वहाँहरुलाई हार्दिक धन्यवाद दिन्छु।
यसअवसरमा म नेपालको नागरिकको हैसियतले निम्नलिखित माग राख्दछु:-
१) सम्माननीय राष्ट्रपति महोदयले प्रेस विज्ञप्ति मार्फत संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नु पर्छ।
२) प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट ढिलानगरी तुरुन्त राजीनामा दिनु पर्छ।
३) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क. केपी शर्मा ओली र क. प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु।
वामदेव गौतम
उपाध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
१२।११।२०७७

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार