बलिदानको पिरामिडमा उभिएको पिस्करलाई सम्झँदा । डम्बर बहादुर थामी (अनुपम)

हजारौं हारहरूलाई चपाएर एउटा जीत निकाले जस्तै छुट्टै संसारतिर सर्दैछु । डम्बर थामी अनुपम

संस्मरण

हिजोका दिनहरूमा मँ रणसमरको एक संवेद्य मुसाफिर थिएँ । त्यसैले मैले यतिखेर आँधी-तूफानी वर्गसंघर्षका । अनि भीषण-भीषण वर्गयुद्धका । रातै- रक्ताम्यै पानाहरू क्रमशः पल्टाउने कोशिश गर्दैछु । वर्गसंघर्षको दावानलरुपी सफरहरूको कथा उजागर गर्ने यत्न-प्रयत्न गर्दैछु । कालान्तरमा भएका यस्ता विद्रोहहरूको अप्रतिम इतिहासको केही लेखोट तयार गर्ने जमर्को गर्दैछु । क्रान्तिको तातो घाम उदाएको बेला धर्ती जगमगाएको दिनको कुरा गर्दैछु । निर्मम इतिहासको क्यानभासमा केही बोधगम्य अनुभवका कार्चोपी भर्दैछु । रगतको मसीले लेखिएका राताम्य  शब्दसागरहरू तर्दैछु । हजारौं हारहरूलाई चपाएर एउटा जीत निकाले जस्तै छुट्टै संसारतिर सर्दैछु । यस्तै-यस्तै कठोर र निर्मम जनसंघर्षको दौरानमा । मैले यहाँ नेपाली जनताको त्याग, तपस्या, वीरता र  बलिदानको पिरामिडमा उभिएको ऐतिहासिक भूमि पिस्करको गाथालाई स्मरण गर्ने पनि कोशिश गर्दैछु । सम्भवतः सबै घटनाक्रमहरूको यथार्थ फेहरिस्तहरू नसमेटिन सक्लान् । किनकि त्यो घटना धेरै लामो समय अगाडिको हो । यसमा म क्षमाप्रार्थी पनि छु ।

 

नेपाली धर्तीमा महान जनयुद्धको दीप्तिमान  राप-ताप फैलिएपछि म पनि एक अथक युद्धयात्री भएँ । कलिलै अल्लारे उमेरमा आफू भन्दा अग्लो बन्दुक बोकेर हिंडे । आफ्नो तौल भन्दा गह्रुंगो अपशकून वस्तुहरु गमला माइन, सिलिन्डर माइन, पाते माइन, टि.एन. टि. माइन (एम्बुस) बोकेर हिंडे । कहिले विरहको राग अलाप्ने सारंगी बोकें । कहिले दुनियाँ ब्युँझाउने मादल बोकें । कहिले विभिन्न रंग भर्ने कुची बोकें । कहिले आफू पुरिनलाई कोदालो-कोदाली बोकें । कहिले धारिलो तरबार बोकें । कहिले रातो-तातो मशाल बोकें । रातै कलम पनि बोकें । कहिले उच्च आदर्श र मालेमावादी विचार बोकें । कहिले सच्चा सर्वहारावादी दर्शन बोकें । र अन्तिममा आएर  सहिद, बेपत्ता, घाइते योद्धाहरूको असिम पीडा बोकिरहेको छु । अनि अप्ठ्यारोमा झुन्डिएको फर्सी जस्तै घाइते जिन्दगी बोकिरहेको छु । र यही जिन्दगी क्रमशः घिसार्दै हिंडिरहेको छु । साँच्चिकै भन्नु पर्दा  त्यतिबेलाको समयमा क्रान्तिकारीहरू धेरै किसिमका योद्धा बन्नुपर्थ्यो । एउटा मात्र योद्धा बनेर पुग्दैनथ्यो । र सम्भव पनि हुँदैन थियो । कहिले उत्पादनकर्ता योद्धा । कहिले साँस्कृतिक योद्धा । कहिले लाल योद्धा । कहिले संगठक योद्धा । त कहिले वीर योद्धा । यसरी विभिन्न योद्धा बन्ने समष्टिगत रूपलाई “लाल र निपुण” (रेड एण्ड एक्सपर्ट) भनिन्थ्यो । हामी जसरी पनि “लाल र निपुण” हुनै पर्थ्यो । “लाल र निपुण” हुने कुरा एक सिक्काका दुई पाटा झैं निकै महत्त्वपूर्ण हुन्थ्यो । लाल मात्र भएर पनि नहुने, निपुण मात्र पनि भएर नहुने ! क्रान्तिको द्वन्दवाद यही थियो । त्यही भएर त क्रान्ति भएको थियो । यसरी सबै कुराले लैस हुने क्रान्तियोद्धा बन्न पनि निकै कठिन थियो । यही कठिनता र जटिलतामा नै हामीले क्रान्तिको भविष्य  देख्ने गर्थ्यौं । त्यही भएर त हाम्रो अन्तिम मक्सद क्रान्ति पूरा गर्ने नै थियो । यो मक्सद पूरा गर्न शोषित पीडित गाउँ बस्तीहरू ब्युँझाउँदै हिंड्नु पनि थियो । यही दौरानमा म २०५४ साल फाल्गुन महिनातिर ऐतिहासिक भूमि पिस्करमा पाईला टेक्ने सौभाग्य पाएको थिएँ ।

 

सबैभन्दा पहिला त मैले पाईला टेकेको घर तौथलीमा क. अखण्ड (विष्णु कुमार श्रेष्ठ) को घर थियो । हाम्रो गाउँबाट गोङ्खा, छिरुवा, थाङ्साको लेक, गैरी, हात्ती छहराको शिर हुँदै खरीढुंगा भन्दा माथिको डाँडा छिचोलेर तौथली पुगिन्थ्यो । पहिला-पहिला हाम्रो हजुरबुबा-बुबाहरुले बाह्रबिसे बजारबाट नून बोक्ने बाटो पनि यही थियो । हाम्रो बुबाले नै यो सुरक्षित बाटो देखाएका थिए । [क. अखण्ड पूराना कम्युनिस्ट, क्रान्तिकारी योद्धा र सार्‍है उर्जावान थिए । प्रखर वक्ता थिए । विचारमा निकै अब्बल थिए । मार्क्सवादी दर्शनका ज्ञाता थिए । सम्पूर्ण रुपले क्रान्तिप्रति समर्पित थिए । उनको सम्पूर्ण परिवार पनि क्रान्तिकारी परिवार थियो । एक अब्बल साथै उदाहरणीय पनि । उनको जेठा छोरा क. सन्देशको पूर्वको घोडेटार मोर्चामा उच्च शहादत भयो । यो क्रान्तिकारी परिवारको बारेमा पनि आगामी दिनमा थप कुराहरू उजागर गर्दै जानेछु ] क. अखण्डकै घरमा पुग्दा मैले  धुस्कुनका दुई जना योद्धा साथीहरू क. राजेन्द्र थामी र क. भूबल थामीलाई भेटेको थिएँ । (क. राजेन्द्रको पनि “किलो शेरा टू ” अप्रेसनको बेलामा सिन्धुपाल्चोक जिल्लाको राम्चेमा शहादत भईसकेको छ ।) उनै योद्धा साथीहरूको साथ लागेर म पहिला धुस्कुन अनि पिस्करमा पाईला टेकेको थिएँ । २०४० साल माघे संक्रान्तीमा थामी दाजुभाइहरू (ईली थामी र वीर बहादुर थामी) को रगत बगेको रातो भूमिमा पाईला टेक्न पाउँदा मलाई असाध्यै गर्वानुभूति भएको थियो । किनकि इतिहास निर्माण गर्ने क्रममा थामी जातिको पनि रगत बगेको थियो ।

 

धुस्कुनमा जाँदा सबैभन्दा पहिला क. राजेन्द्र दाइको घरमा पाईला टेकियो । उज्ज्वल भविष्यसँग आशातित साना-साना लालाबाला । फरासिली भाउजू । आर्थिक स्थिति अलि कमजोर भए पनि सुखी । त्यसपछि क. भुबल दाइको घरमा पाईला टेकियो । उनको पनि सानो परिवार सुखी परिवार रहेछ । उनको परिवारसँग पनि केही बेर कुराकानी गरियो । भाउजू पनि धेरै बुझ्झकी रहिछन् । अनि फेरि गाउँभरिका थामी समुदायका मान्छेहरू जम्मा भए । घरहरू साना-साना भए पनि ढुंगा काटेर पाटा निकालेर कुनै सिपालु कालीगढले लगाएको झैं तिरिक्क मिलेका घरका गाह्राहरू । सानो-सानो पत्रे चट्टान काटेर छाईएका ढुंगाका छानाहरू । कम्युन सिस्टमको बस्तीहरू । घर बनाउन पनि पर्म लगाउने अनौठो चलन । सफाचट  मझेरी, दलान र आँगनहरू । बगैंचाभरि फलफूलका बोटहरू । वर्षौं युद्ध लडेर रिटायर्ड भएका सिपाही झैं जनताहरू । क्रान्ति-जिन्दावाद को नारा भट्ट्याइरहे झैं लाग्ने अजम्बरी-ऐतिहासिक  गाउँहरु-बस्तीहरू । र लालयोद्धा झैं जनसमुदायहरू । यी महान समुदायसँग   क्रान्तिको बारेमा केही भलाकुसारी गर्न खोजियो । उनीहरूका मुटुका शिरा र धमनीहरूमा केवल क्रान्ति मात्र बगेको आभाष भयो । बुढाबुढी बाआमाहरूले पनि नानी “जहाँ संघर्ष हुन्छ त्यहाँ बलिदान हुन्छ !” भनेर उल्टै हामीलाई नै सम्झाएको देख्दा अचम्म लाग्यो । त्यसरी त्यो गाउँ क्रान्तिमय थियो । सदैव संघर्षमय थियो । क्रान्तिको उज्यालो दीप बलिरहेको प्रतीत हुन्थ्यो । त्यसपछि फेरि पिस्करतिर पाइला मोडियो । (२०४० साल माघे संक्रान्तिको दिन पिस्कर महादेव स्थानमा जनताले साँस्कृतिक कार्यक्रम गर्दागर्दै पन्चायती क्रूर शासनले जनताको रगत पिएको भूमि त्यही थियो । जनताका छोराछोरीहरूले प्राणको आहुती दिएको भूमि त्यही थियो । क्रान्तिभूमिमा पाईला टेक्न पाउँदा म निकै भावबिभोर भएको थिएँ ।) पूर्ण थामी दाइको घरमा केही समय भेटघाट गरी कुराकानी गरेर फर्किईयो । धेरै कुरा गर्न बाँकी हुँदाहुँदै पनि पुलिस चौकी नजिकै भएकोले त्यहाँबाट हिंड्नु पर्ने अवस्था आयो । प्रत्येक पाईला पाईलामा खतरा मोल्नुपर्ने अवस्था थियो त्यतिबेला ।

धुस्कुन र पिस्करका जनसमुदायसँग भलाकुसारी गर्दा पिस्कर घटनाको बारेमा विस्तृत कुराहरू बुझ्न पाईयो । २०३६ सालको जनमत संग्रहमा षड्यन्त्रमूलक ढंगले निर्दलीय पन्चायती व्यवस्थाले जीत आफ्नो पोल्टामा पारेपछि शासन र शासकहरू झन-झन क्रूर बन्दै गए । फासिष्ट हुँदै गए ।शासकहरू क्रूरतापूर्वक झन हत्या र दमनमा उत्रंदै गए । तत्कालीन अवस्थामा ने.क.पा. (मा-ले) ले जनतालाई पन्चायती व्यवस्थाको विरुद्ध संगठित गर्दै लगेको थियो । क्रान्तिका अत्यन्तै आधारभूत वर्ग थामी समुदायको बाहुल्य क्षेत्रमा कम्युनिस्ट पार्टीको निकै मजबुत संगठन रहेछ । क्रान्तिको निम्ति दिलोज्यान दिने थामी र अन्य समुदाय पनि मिसिएको त्यही अजम्बरी संगठनले पार्टीका  सम्पूर्ण गतिविधिहरू सन्चालन गर्ने रहेछ । यही शिलशिलामा २०४० साल माघे संक्रान्तिको दिन तौथली, टेकनपूर, पिस्कर, धुस्कुन, चोकटी पाँच गाउँको जनताहरू (पार्टी काडरहरू) जम्मा भएर पिस्कर महादेवस्थानमा साँस्कृतिक कार्यक्रमको आयोजना गरेका रहेछन । नाचगान गरेका रहेछन । दु:ख, पीडा, वेदना पोखेका रहेछन । जनता कसरी अन्यायमा परेकाछन भन्ने कुराको चेतना जगाएका रहेछन । पन्चायती व्यबस्था विरोधी साँस्कृतिक कार्यक्रम रातभरि गरेपछि बिहान हुनै लाग्दा या जून पनि अस्ताएपछिको अँध्यारोमा स्थानीय जाली-फटाहाहरूको सुराकीमा पूर्व योजना अनुसार नै काठमाडौबाट पुलिस फोर्स गएर कार्यक्रम स्थललाई चारैतिरबाट घेरा हाली भीषण दमन गरेर ! गोली वर्षाएर जनतालाई चिहिलबिहिल बनाईएको रहेछ । चारैतिरबाट असिना झैं गोली वर्षिन थालेपछि खाली हात भएका जनताले गोलीका परराहरुको पर्वाह नगरी ढुंगामुढा गरेर सशक्त प्रतिरोध गरेका रहेछन् । गोली चल्ने क्रममा ईली थामी र वीर बहादुर थामीलाई  सबैभन्दा पहिला गोली लागेको रहेछ । पेटमा गोली लागेर आन्द्रा भुँडी निस्कंदा पनि एउटा हातले आन्द्रा भुँडी थाम्दै दुश्मनमाथि ढुंगामुढा गर्दागर्दै ईली थामी र वीर बहादुर थामीको शहादत भएको रहेछ । घटनास्थलमा दुई जनाको शहादत भए पनि पछि तीन जना गरी जम्मा पाँच जनाको शहादत भएको रहेछ र धेरै कम्युनिस्ट कार्यकर्ताहरू घाइते भएर गिरफ्तार परेका रहेछन् । यसरी सो घटनापछि पनि महिना दिनसम्म गाउँभरि अप्रेसन चलाएपछि जनताहरू आफ्नो घर, गोठ, गाउँ छाडेर भागेका रहेछन् । गाउँ बस्तीहरू सुनसान भएको रहेछ ।कम्युनिस्टहरूको एउटै चिहान बनाउने उद्देश्यकासाथ त्यो हत्या र दमनको शृङ्खला मच्चाईएको रहेछ । तर नेता भनाउँदाहरूको चाहिँ कसैको उपस्थिति रहेनछ । यसरी पन्चायती व्यवस्थाका भरौटेहरूले जनतालाई दमनको हत्कण्डा अपनाएका रहेछन् । सम्झँदाखेरि छाती दुखेर आउँछ । मुटु चिरिएर आउँछ । जनताले यति ठूलो योगदान र प्राणको आहुती दिँदा पनि अहिलेसम्म आउँदा जनताको हालत उस्तै छ । जुन अवस्थामा थिए त्यही अवस्था छ ।

यसरी पिस्कर हत्याकाण्डपछि हाम्रो गाउँतिर माधव पौडेल, अमृत बोहरा, केशव बडाल, मीरा थामी लगायतका नेताहरू भूमिगत हुन आए । हाम्रो घरमा पनि करिब सात, आठ वर्ष भूमिगत बस्न आए । बुबाले बाह्रबिसेको कोदो बोकेर भूमिगत नेताहरूलाई पाल्थे । क्रान्ति, पार्टी र संघर्षका कुराहरू गर्थे । बहुदल आएपछि तिनीहरु पनि हराए । व्यक्तिगत स्वार्थमा लिप्त भए । पिस्करको बलिदानलाई चटक्कै बिर्सिए । पिस्कर अँध्यारोको साम्राज्यमै रुमल्लिईरह्यो । पटक-पटक भएको जनविद्रोहहरूमा पिस्करले भाग लिएकै थियो । तर त्यो विद्रोहको मूल्यांकन कुनै कोणबाट पनि हुन सकेन । यही विद्रोहको जगमा टेकेर सीमित मान्छेहरू सत्ताको मालिक भए । जनताहरू जुन हालतमा थिए त्यही हालतमै रहिरहे । जनयुद्ध शुरु भएपछि पनि पिस्कर, धुस्कुन, तौथली, टेकनपूर, चोकटी, कर्थली, घोर्थलीबाट धेरै योद्धाहरू भूमिगत भए । पिस्करको रगतको बदला लिन स्वतस्फूर्तरुपमा विद्रोहमा सामेल भएका थिए । तर हात लाग्यो शून्य झैं भएको अवस्था भयो । महासमरमा लामवद्ध हुने क्रममा धुस्कुनबाट पिस्कर हत्याकाण्डका सहिद वीर बहादुर थामीका छोरा सन्जय थामी पनि भूमिगत भएका थिए । पूर्व पश्चिमका दर्जनौं लडाइँ बदादुरिपूर्वक लडेका क. सन्जय आफ्नो बुबाको हत्याको बदला लिन जनयुद्धमा सामेल भएका थिए । उनी जनमुक्ति सेनाको ब्रीगेड सह कमान्डर भएर स्वैच्छिक अवकाशमा निस्किए । यसैगरी टेकनपूरका कमरेड जगत बहादुर बोहरा पनि जनयुद्धमा सामेल भएका थिए । उनी पनि पिस्कर हत्याकाण्डका घाइते हुन । पछि उनलाई घाइते अवस्थामा नै गिरफ्तार गरिएको रहेछ । यसरी जनयुद्धको क्रममा पनि पिस्कर र धुस्कुनले धेरै सहिदहरू जन्मायो । धुस्कुनका राजेन्द्र थामी, भीमलाल थामी लगायत र पिस्करका हरि बहादुर थामी, कविता थामी, चमेली थामी, जुना श्रेष्ठ, भवी थामी लगायत धेरै योद्धाहरूले रगत बगाए । धेरैले जेलनेल र यातना भोगेको इतिहास साक्षी छ ।

अहिले साविक गा.वि.स. हरू घोर्थली, चोकटी, धुस्कुन, पिस्कर, तौथली र टेकनपूर मिलेर त्रिपूरासुन्दरी गाउँपालिका बनेको छ । र पिस्कर गाउँपालिकाको केन्द्र बनेको छ । पन्चायती व्यवस्था अन्त्य भएपछि र बहुदलीय व्यवस्था आएपछि ईली थामी र वीर बहादुर थामीको शालिक स्थापना गर्ने काम बाहेक अरु केही हुन सकेको छैन । त्यहाँका जनसमुदायको स्थिति जस्ताको तस्तै छ । जनयुद्धमा लामवद्ध भएर शहादत प्राप्त गर्ने साथीहरूको सम्झनामा त झन केही पनि हुन नसक्दा धेरै दुख लागेर आउँछ । पिस्करमा बगेको रगतको सम्मान गर्न दिलोज्यान दिएर लागियो । तर पनि पहिलेका क्रान्तिकारी भनाउँदाहरू अहिले उही पहिलेकै जस्तो शासकमा परिणत भएपछि कसको के लाग्दोरहेछ र ? विधिको विडम्बना यस्तै छ । जनताले जतिपटक विद्रोहको आवाज उठाए पनि निकम्मा साबित भएको छ । तर फेरि पनि क्रान्तिको झिल्का दृष्टिक्षीतिजमा देखापरेको आभाष भईरहेको छ । अब आउने या हुने विद्रोह र क्रान्तिहरूले विगतको कमजोरीहरूबाट पाठ सिक्दै आमूल प्रलयकारी परिवर्तन गरोस् भन्ने शुभेच्छा प्रकट गर्दै महान सहिदहरूको सपनालाई साकार पार्न मुटुमा रगत भएसम्म लडिरहनेछु । पिस्कर हत्याकाण्डदेखि जनयुद्धसम्म प्राणको आहुती दिने सम्पूर्ण ज्ञात-अज्ञात महान  सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

डम्बर थामी ‘अनुपम’
२९ पौष, २०७७ पराईभूमी !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार