ओलीलाई नहटाए लोकतन्त्रको रक्षा हुँदैन : उपेन्द्र यादव

  ग्राण्ड सम्बाददाता
 94 पटक हेरिएको

वीरगन्ज / जनता समाजवादी पार्टीकाे वीरगन्जमा भएको सभालाई सम्बोधन गर्दै जसपा अध्यक्ष उपेन्द्र यादवले संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिए पनि प्रधानमन्त्री ओलीले जबर्जस्ती गरेर लोकतन्त्रको हत्या गरेको बताए । जनताको बलिदानीबाट बनेको संविधानलाई लत्याएर आफ्नो मनोमानी तरिकाले गरेको संसद् विघटन जनतालाई मान्य नहुने उनको भनाइ थियो ।

उनले जनतासँग मत लिएर ओलीले जनताका अधिकारलाई नै ध्वस्त बनाउन खोजेको जिकिर गरे । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले प्रतिनिधिसभा पुनस्र्थापना नभएसम्म आन्दोलन जारी रहने बताए । लोकतन्त्र बचाउन केपी ओलीलाई संसद्बाट सडकमा पठाउनुपर्ने उनको भनाइ थियो ।

‘संविधानमार्फत् जनताले प्राप्त गरेका अधिकारलाई संस्थागत गर्दै अघि बढ्ने र संविधानमा रहेका त्रुटि सच्याई सबैलाई स्वीकार्य हुने संविधान बनाउनेतिर ओलीको भूमिका हुनुपर्ने थियो,’ अध्यक्ष यादवले भने, ‘तर, ओलीले लोकतन्त्रको हत्या गरे, जनताले प्राप्त गरिसकेका अधिकारसमेत डुबाउने काम गरे । अब जनताले उनलाई सडकमा पुर्‍याएपछि मात्र विश्राम लिनुपर्छ ।’

अध्यक्ष यादवले प्रधानमन्त्री ओली मार्क्सवादी र साम्यवादी नभएको जिकिर गरे । ‘ओली मार्क्सवादी, साम्यवादी केही होइनन्,’ उनले भने, ‘ओली महेन्द्रवादी, नश्लवादी र निरंकुशवादी हुन् । उनको कार्यशैली यस्तै रहेको पुष्टि भयो ।’ त्यही कार्यशैली भएकै कारण ओलीले संसद् विघटन गरेको र लोकतन्त्र, गणतन्त्र, संघीयता, मौलिक अधिकार समाप्त गरी सर्वसत्तावादतर्फ अघि बढेको उनले आरोप लगाए । ‘ओलीले चुनाव गराउँदैनन्,’ उनले भने, ‘अब यसपछि प्रदेश सभा हटाउँछन् र देशमा संकटकाल लगाउँछन् । संकटकालबाट पनि आन्दोलन नरोकिए सेनालाई जिम्मा दिएर संविधान भंग गराएर अघि बढ्न खोज्छन् ।’

जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले संविधान र लोकतन्त्र ध्वस्त बनाउन संसद् विघटन गरिएको दाबी गरे । यस्तै, उनले कम्युनिस्ट पार्टीभित्रको पद भागबन्डाको विवादले संसद् विघटन हुन पुगेको भन्दै जनतालाई मान्य नहुने बताए । ‘नेपालको संविधान र लोकतन्त्रलाई ध्वस्त बनाउने गरी ओलीको कदम आएको छ । यो प्रतिगमनकारी कदम भएकाले यसविरुद्ध लड्नुको विकल्प छैन,’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार