नेपाली काङ्ग्रेसको महाधिवेशन भदाैमा सार्न शीर्ष तहका नेता सहमत ।

काठमाडौ / नेपाली कांग्रेसका शीर्ष नेताहरू पार्टीको १४औं महाधिवेशन जेठ वा भदौमा सार्न सहमत भएका छन् । केही दिनदेखि नियमित रूपमा बस्दै आएको पदाधिकारीसहित शीर्ष तहका नेताहरूको अनौपचारिक छलफलमा जेठ वा भदौमा महाधिवेशन गर्ने गरी सार्न शीर्ष तहका नेता सहमत भएका हुन् ।

कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले आगामी फागुनमा महाधिवेशन गर्न कठिन रहेको निष्कर्षमा पुगिएको र महाधिवेशन सार्ने विषयमा नेताहरू सहमत भएको बताए । ‘महाधिवेशन फागुनमा हुने भन्ने विषय अब कठिन छ, सबै नेताहरू यसमा सहमत हुनुहुन्छ, महाधिवेशनको नयाँ मिति केन्द्रीय समति बैठकले तय गर्छ,’ कांग्रेस सहमहामन्त्री डा. महतले राजधानीसँग भने ।

पूर्वनिर्धारित केन्द्रीय समिति बैठक स्थगित भए पनि भने हुँदै आइरहेको छ । बैठकमा पार्टीभित्रको असन्तुष्ट समूहले राखेका मागका विषयमा समेत छलफल जारी छ । तर, कुनै सहमति भने भएको छैन । ‘असन्तुष्ट पक्षका मागमा पनि छलफल जारी छ, उहाँहरूमा आशंका र अविश्वास धेरै देखिएको छ । सभापतिले छलफलबाटै मिलाउने प्रयत्न गरिरहनुभएको छ,’ महतले थपे ।

सभापति शेरबहादुर देउवाले गठन गरेका विभाग र त्यसमा थपिएका सदस्यहरू, क्रियाशील सदस्यता वितरण, भ्रातृ संस्था र पार्टीका संरचना समायोजनलगायतका विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विरोध जनाउँदै आइरहेको छ । सो पक्षका २७ केन्द्रीय सदस्यले देउवाको कार्यशैलीको विरोधमा लिखित रूपमै १६ बुँदे असहमति राख्दै आएका छन् ।

असन्तुष्ट पक्षका नेता नवीन्द्रराज जोशीले सबै विषयलाई प्याकेजमा टुंग्याएर केन्द्रीय समिति बैठकबाट महाधिवेशनबारे निर्णय हुनुपर्ने बताए । उनले महाधिवेशनको प्रक्रिया जतिसक्दो छिटो सुरु गरेर आवश्यक पर्ने नपुग समयलाई सहमतिबाट मिलान गर्न सकिने जनाए । ‘महाधिवेशन प्रक्रिया जतिसक्दो छिटो सुरु गरिनुपर्छ । अलमल गर्ने र लम्ब्याउने भन्दा प्रक्रियामा गएर अपुग समय के कति लाग्छ, सहमतिबाट थप गर्न सकिएला,’ नेता जोशीले भने ।

कांग्रेसले महाधिवेशनबारे छलफल गर्न २१ कात्तिकमा केन्द्रीय समिति बैठक राखेको थियो । सो बैठक फेरि २४ गतेसम्मका लागि सरेको छ । सो मितिअघि नै आफूहरूले राखेका असहमतिबारे छलफल गरी टुंगोमा पुग्न वरिष्ठ नेता पौडेलले माग गरेपछि सभापति देउवाले पदाधिकारीहरूको अनौपचारिक बैठक राख्दै आएका हुन् । नेताहरूबीच आगामी वैशाख वा जेठमा महाधिवेशन गर्नुपर्ने विषयमा छलफल हुँदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार