हिन्दुवादी दुई दल भित्र फेरि विवाद सुरु ।

राजनिती

  ग्राण्ड संबाददाता
 65 पटक हेरिएको

काठमाडौं – सहमतिको आधार पत्रमा उल्लेख भएको विषयमा विवाद सुरु भएपछि एकीकृत राप्रपाको दल दर्ता प्रक्रिया अन्योलमा परेको छ । एकीकृत पार्टीको नयाँ विधान बनाउनु पर्ने राणा र लोहनी समूहको माग र नयाँ प्रक्रियाबाट गए हिन्दू राष्ट्र र राजसंस्था शब्द उल्लेख गर्न नमिल्ने थापा समूहको जिकिरका बीच राप्रपामा नयाँ विवाद सुरु भएको हो ।

तात्कालीन राप्रपा र राप्रपा संयुक्तबीच गत फागुन २८ गते भएको एकीकरणको सहमति पत्रमा राप्रपाको विधानलाई अन्तरिम विधानका रुपमा स्वीकार गर्ने उल्लेख छ । २०७३ सालमा समेत संविधानको बर्खिलाप हुने गरी हिन्दू राष्ट्र र राजसंस्था राख्न नमिल्ने भन्दै निर्वाचन आयोगले राप्रपा र राप्रपा नेपालबीच एकीकरण पछिको दल दर्ताको क्रममा ती शब्द राख्न आनाकानी गरेको थियो ।

राप्रपाको विधानमा हिन्दू राष्ट्र र राजसंस्था उल्लेख भएपनि पशुपति सम्शेर राणाले छुट्टै खोलेको राप्रपा प्रजातान्त्रिकको विधानबाट भने आयोगले ती शब्द हटाईदिएको थियो । राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहनीको राप्रपा राष्ट्रवादीबीच एकीकरण भएर बनेको राप्रपा संयुक्तले राप्रपासँग गत फागुन २८ गते एकीकरण गरेको हो ।

नयाँ विधान बनाएर गए ती शब्दावली आयोगले संशोधन गर्ने तर्क गर्दै अध्यक्ष कमल थापा समूहले पुरानै विधानमा परिमार्जनका लागि निवेदन दिनु उपयुक्त हुने बताएको छ । सहमति अनुसार, तीन जना अध्यक्ष तथा कार्यसम्पादन र केन्द्रीय समितिको संख्या लगायत विषयमा मात्र संशोधन आवश्यक रहेको अध्यक्ष थापाको भनाई छ ।

अर्का अध्यक्ष पशुपति शम्सेर राणा र प्रकाशचन्द्र लोहनीले भने पुरानै विधान अनुसार दल दर्ता प्रक्रियामा गए राप्रपामा बिलय भएको हुने अर्थ लगाउँदै नयाँ विधान बनाएर दल दर्ता प्रक्रियामा जानु पर्ने धारणा राखेका छन् ।

दोस्रो तहका नेतासहित तीन जना अध्यक्षबीच आज दल दर्ताको विषयमा छलफल भएपनि सहमति भने जुट्न सकेन । छलफलमा सहभागी एक वरिष्ठ नेताले तीन जना अध्यक्षबीच सुरु भएको नयाँ किचलोले राप्रपा फेरि अन्योल उन्मुख भएको भन्दै चिन्ता व्यक्त गरे । उनका अनुसार, तीन जना अध्यक्षले थप छलफल गरेर सहमतिको विकल्न दिने समझदारी भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार