स्थायी कमिटी बैठक फेरि सर्‍यो, ४ गते बस्ने

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक ४ गते (आइतबार) लाई सारिएको छ ।

शुक्रवार (आज) बिहान ११ बजे बस्ने भनिएको बैठक पुनः ३ बजेलाई सारिएको थियो । नेकपाभित्रको आन्तरिक विवादका कारण पटकपटक बैठक सर्दै आएको छ ।

असार १८ गतेदेखि लगातार स्थगित भएको नेकपा स्थायी कमिटी बैठक आजलाई बोलाइएको थियो । आज पनि बिहान ११ बजे बस्ने भनिएको बैठक अन्तिम समयमा आएर दिउँसो ३ बजेलाई सारिएको थियो । बैठकको केही समय बाँकी रहँदा पुनः बैठक सरेको हो ।

पटक–पटक गरेर दुई साता स्थायी कमिटी बैठक स्थगित भइसकेको छ । बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपामा चुलिँदै गएको विवाद मिलाउने प्रयास गरिरहेका छन् । प्रचण्ड–नेपाल पक्षले ओलीको राजीनामा माग्ने र ओलीले राजीनामा नदिने अडान दोहोर्‍याएपछि बैठक विना निष्कर्ष टुंगिँदै आएको छ ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमतिमा पुग्न नसकेपछि आज हुने भनिएको स्थायी कमिटी बैठकमा पनि दुई खेमा (ओली र प्रचण्ड–माधव) बीच विवाद झन् चर्किने सम्भावना बढेको थियो ।

बिहीबार भएको वार्तामा पनि दाहाल र नेपालले प्रधानमन्त्री पदबाट राजीनामा गर्न दबाब दिएपछि ओलीले आफूले राजीनामा नदिने अडान राख्दै हटाउने नै हो भने विधिसम्मतरूपमा हटाउन चुनौती दिएका थिए । ओलीले विधिसम्मत प्रक्रिया सामना गर्न तयार भएको बताएका थिए ।

ओलीको राजीनामा नदिने अडानपछि दुवै पक्षले बिहीबार साँझ आ–आफ्ना समूहको बैठक राखेर रणनीति बनाइसकेका थिए ।

आजको स्थायी कमिटी बैठकमा पनि ओलीको राजीनामा मागिने र सहमति नभएको सन्देश दिँदै केन्द्रीय कमिटी बैठक बोलाउन दबाब दिने ओलीइतरको समूहको तयारी थियो ।

नेकपाका ९ सदस्यीय सचिवालय, हाल ४४ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रीय कमिटीमा ओली अल्पमतमा देखिएका छन् । ओली अल्पमतमा परेकाले पनि अर्को पक्षले उनलाई पार्टी र सरकारको कार्यकारी भूमिकाबाट हटाउने प्रयास गरेको हो ।

बहुमतबाट पक्ष हटाउने प्रयास गर्दा पार्टी फुटको संघारमा पुगेपछि नेताहरू पछि हटेका थिए । दुवै पक्ष आ–आफ्ना अडानमा कायम रहेपछि विवाद चर्किंदै जाने संकेत देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार