सेयर बजार मंगलबारदेखि कारोबार सञ्चालन गर्न सरोकारवालालाई निर्देशन।

अर्थिक

  ग्राण्ड संबाददाता
 57 पटक हेरिएको

काठमाडौँ — धितोपत्र बोर्ड (सेबोन) ले सेयरको मंगलबारदेखि कारोबार सञ्चालन गर्न सरोकारवालालाई निर्देशन दिएको छ । निर्देशनअनुसार प्रतिदिन दुई घण्टा (बिहान ११ देखि दिउँसो १ बजेसम्म) मात्र सेयर बजार खुल्नेछ । सामान्य अवस्थामा दैनिक चार घण्टा बजार खुल्ने गरेको थियो ।

‘नेप्से, सीडीएससी, मर्चेन्ट बैंकर्स, डीपी, ब्रोकरलगायत कार्यालय आइतबारदेखि सञ्चालन गर्ने र धितोपत्रको दोस्रो बजार कारोबार मंगलबारबाट मात्र सञ्चालन गर्ने,’ सेबोनको निर्देशनमा भनिएको छ । सेबोनले कारोबार सञ्चालनका लागि निर्देशन दिए पनि नेप्सेले शुक्रबार बजार सञ्चालनको निर्णय गर्न सकेन । अर्थमन्त्री युवराज खतिवडा तत्काल बजार खोल्ने पक्षमा नभएको जानकारी अर्थ मन्त्रालयबाट आएपछि आइतबार फेरि बसेर निर्णय गर्ने गरी शुक्रबार बसेको नेप्से सञ्चालक समितिको बैठक सकिएको छ । ‘अर्थ मन्त्रालयको राय बुझेर मात्र आइतबार बोर्ड बैठकले बजार खोल्ने, नखोल्नेबारे निर्णय गर्छ,’ स्रोतले भन्यो ।

निर्देशनअनुसार नेप्सेले सुरुको (प्रारम्भिक) कारोबार सत्रमा मूल्य तय (प्रविष्टि) गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको १ प्रतिशतसम्म परिवर्तन हुन सक्ने र कारोबार आदेश दिँदा (प्रविष्टि गर्दा) २ प्रतिशतसम्म परिवर्तन हुन सक्ने व्यवस्था गर्नुपर्नेछ । यसरी समग्रमा दिनको ३ प्रतिशतभन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था गर्ने बोर्डले निर्देशन दिएको छ ।

लगानीकर्तालाई मेरो सेयर खाता खोली सोही खाताबाट अनिवार्य राफसाफ गर्ने व्यवस्था गर्नुपर्नेछ । यसका लागि ०७७ असार मसान्तसम्म मेरो सेयरको नयाँ खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने र सम्पूर्ण निक्षेप सदस्यको केन्द्रीय कार्यालयमार्फत राफसाफको व्यवस्था मिलाउन पनि सेबोनले भनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार