दोलखामा परीक्षा नसकिदै – नतिजा प्रकाशन गर्न प्रदेश सरकारको निर्देशन।

शिक्षा

  हरि चापागाईं।
 69 पटक हेरिएको

बैशाख १९ चरिकोट : दोलखामा कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सकिएकै छैन् । जिल्लामा गैरकानुनी रुपमा स्थापना गरिएको एकीकृत विद्यालयस्तरीय परीक्षा समिति दोलखाले सरकारलाई चुनौती दिँदै तोकिएको अवधिमा परीक्षा सम्पन्न गरेनन् । पर्याप्त समय हुँदाहुँदै पनि सो समितिको गैरजिम्मेवारीपनले दुईवटा विषयको परीक्षा अझै हुन सकेको छैन ।

तर, बिहीबार बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले स्थानीय तहसँगको समन्वयमा ती कक्षाहरुको वार्षिक परीक्षाको रोकिएको नतिजा तत्काल प्रकाशन गर्न विद्यालयलाई निर्देशन जारी गरेको छ । बिहीबार बागमती प्रदेश सरकारको चलानी नं.२३१० मार्फत जारी गरेको निर्देशनले जिल्लाका शिक्षक र विद्यार्थी अन्योलमा परेका छन् । शिक्षा विकास तथा समन्वय इकाइ चरिकोटका प्रमुख शंकरबाबु श्रेष्ठले २५ गतेसम्म पर्खिने त्यसपछि पनि लकडाउन लम्बियो भने बैकल्पिक तरिकाले परीक्षा सञ्चालन गर्ने तयारी गरेको बताए ।

मन्त्रालयले नजिता प्रकाशनपछि  भौतिक दूरी कायम गरेर उपयुक्त बैकल्पिक माध्यमबाट विद्यार्थी भर्नाको व्यवस्था गर्न समेत विद्यालयलाई निर्देशन जारी गरिसकेको छ । यता गैरकानुनी सो समितिले जारी गरेको परीक्षा तालिकाअनुसार जिल्लाको ९ मध्ये ७ स्थानीय तहमा अझै २ वटा विषयको परीक्षा नै सञ्चालन गर्न बाँकी छ । भीमेश्वर नगरपालिकाका शिक्षा शाखाका अधिकृत अर्जुन कार्कीले केही दिनमा बैठक बसेर परीक्षा सञ्चालन सम्बन्धी निर्णय गर्ने बताए ।

कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न पूर्व सतर्कताका लागि गत फागुन २० गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ५ गतेभित्र विद्यालयस्तरीय वार्षिक परीक्षा सम्पन्न गर्न जारी गरेको निर्देशन विपरित सो समितिले फागुन २१ गते बैठक बसेर चैत ९ गते परीक्षा सम्पन्न गर्ने निर्णय गरेको थियो ।

त्यति बेलै समितिको निर्णयलाई केही प्रधानाध्यापकले विरोध गरेका थिए भने केही प्रधानाध्यापकले चैत ६ गते कोरोना नेपाल भित्रन्छ भन्ने कसले थाहा पायो भनेर सामाजिक सञ्जालमार्फत समर्थन गरेका थिए ।

सो समितिको परीक्षा तालिकाअनुसार चैत ७ गते कक्षा १-५ को प्रयोगात्मक, कक्षा ६, ७ र ८ को नैतिक, स्वास्थ्य तथा शारीरिक र कक्षा ९ को ऐच्छिक प्रथमको परीक्षा सञ्चालन गर्न बाँकी रहेको छ भने चैत ८ गते कक्षा ६, ७ र ८ को स्थानीय पाठ्यक्रम र कक्षा ९ को ऐच्छिक द्वितीयको परीक्षा बाँकी छ ।

गौरीशंकर गाउँपालिकाका शिक्षा शाखा प्रमुख सन्तोष पौडेलले लकडाउन लम्बियो भने बाँकी  विषयको पहिलो र दोश्रो त्रैमासिक परीक्षाको आधारमा नतिजा प्रकाशन गर्ने तयारी रहेको बताए ।

विद्यार्थी भर्नापछि विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन समेत मन्त्रालयले सहजीकरण गर्ने निर्देशन जारी गरे पनि जिल्लाका करिब ३५ हजार बालबालिकाहरु भने परीक्षा नै नदिई नतिजा कसरी प्रकाशित हुन्छ भन्नेमा शंका गरिरहेका छन् । चैत ५ गते एसईई समेत स्थगित गरी सम्पूर्ण विद्यालय, विश्वविद्यालय लगायत बन्द गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै सो समितिले चैत ६ गते पनि परीक्षा सञ्चालन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार